बीमा क्षेत्रमा देखिने गरी नयाँ काम गर्ने छु : नवनियुक्त अध्यक्ष ओझा
Last updated at 09:07 pm
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आफ्नो कार्यकालमा बीमा क्षेत्रमा देखिने गरी नयाँ काम गर्ने योजना रहेको बताएका छन्।
प्राधिकरणको कार्यालय कुपन्डोलमा मंगलबार पदभार सम्हाल्दै नवनियुक्त अध्यक्ष ओझाले यस्तो बताएका हुन्।जिम्मेवारी पूरा गर्न नसक्दा सम्पूर्ण युवापुस्ताप्रतिको विश्वास पनि नरहन सक्ने भन्दै उनले भने, ‘४ वर्षमा बीमा क्षेत्रमा देखिने परिवर्तन हुनेछ ।’
उनले भने, ‘सरकारले मलाई चार वर्षको कार्यकाल नियुक्त गरेको छ। मेरो कार्यकालको अन्त्यसम्ममा बीमा क्षेत्रमा केही नयाँ देखिने गरी काम हुनेछन् भन्ने म आश्वस्त पार्न चाहन्छु ।’
उनले आफूले पेस गरेको कार्ययोजना र बीमा प्राधिकरणको विगतको अभ्यास र वर्तमान अवस्थालाई ध्यानमा राखेर कार्यान्वयन योग्य योजनाका आधारमा पहिलो दिनदेखि नै अगाडि बढ्न् छौं।’
प्राधिकरणको टिमको विश्वाससँगै साथ लिएर सरकारले दिएको जिम्मेवार र ऐनले तोकेको मापदण्ड पूरा गर्न आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने पनि उनको भनाइ छ । साथै उनले आफूलाई सरकारले विश्वास गरेर जिम्मेवारी दिएको उल्लेख गर्दै बीमा क्षेत्रमा देखिएको विद्यमान चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने बताए ।
वर्षौंदेखि बीमा प्राधिकरणले नियमनकारी भूमिका निर्वाह गर्दै आएको पनि उनले बताए ।
बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन् ।उनलाई अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाइ तथा कार्य सफलताको शुभकामना दिए ।
ओझालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।