५० मेवा क्षमताको मेवा खोला हाइड्रोपावरबाट चैतदेखि बिजुली उत्पादन शुरु
Last updated at 08:41 am
ताप्लेजुङ जिल्लाको मेवा खोलामा निर्माणाधीन युनाइटेड मेवा खोला हाइड्रोपावरले आगामी चैत महिनादेखि बिजुली उत्पादन गर्ने भएको छ।
मेरिङदेन गाउँपालिकामा निर्माण भइरहेको ५० मेगावाट(मेवा) क्षमताको आयोजना निर्माणको अन्तिम चरणमा छ। मेरिङदेन गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा रहेको यो आयोजना समग्रमा ९९ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।
पावर हाउस निर्माण भइसकेको आयोजनाका मेनेजर ओमप्रकाश चौधरीले बताए। चौधरीले सिभिलका कामहरू पनि सकिएको जानकारी दिए। उता, पानी प्रवाह गर्ने सुरुङमार्ग पनि बनिसकेको छ। मेरिङ्देन गाउँपालिका–५ को थुकीमा पुछारबाट सुरु भएको सुरुङर्ग चार हजार आठ सय मिटरको छ।
विसं २०७८ भदौ २ गतेदेखि निर्माण शुरु भएको आयोजना २०८१ असोज महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि केही ढिला भएको आयोजनाको भनाइ छ। आयोजनाबाट उत्पादित विद्युत् आगामी चैत १५ गतेसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ।
आयोजनाबाट हिउँदमा ९७ दशमलव ४२४ मेगावाट घण्टा र बर्खामा २०५ दशमलव ५८७ गिगावाट गरी वार्षिक ३०३ दशमलव ०११ मेगावाट विद्युत् उत्पादन हुनेछ।आयोजनाको लागत ९ अर्ब रुपैयाँ छ।
यसका साथै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी पनि गरिरहेको छ। कम्पनीले यसका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरिसकेको छ ।