मौद्रिक नीतिको समीक्षा आज, मौद्रिक नीतिमा केही संशोधन हुने संकेत
Last updated at 02:19 pm
नेपाल राष्ट्र बैंकले मंगलबार अपरान्ह चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ।
यो समीक्षा कार्यकालको अन्तिम समय व्यतीत गरिरहेका केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीका लागि अन्तिम हो । पाँचवर्षे कार्यकाल बिताएर आगामी चैत २५ गते गभर्नर पदबाट बिदा हुन लागेका अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि नीतिगत लचकता अपनाउने गरी मौद्रिक नीतिमा केही संशोधन गर्ने संकेत गरेका छन् ।
यतिखेर राष्ट्र बैंक परिसरबाट उनले अन्तिमपटक मौद्रिक नीति समीक्षा गर्न लागेकाले सर्वत्र चासोको विषय बनेको छ । लगानीयोग्य क्षेत्रको खोजीमा भौँतारिरहेको बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या कायमै रहेकाले बैंकरहरूले नीतिगत लचकताको अपेक्षा राखेका छन् ।
समीक्षाअघि बैंकरको सुझाव लिएका गभर्नर अधिकारीले पनि बैंकिङ क्षेत्रका लागि जारी गरिएकामध्ये केही नीति संशोधन गर्ने आश्वासनसमेत दिएका छन् ।
तर कतिपय बैंकरहरु भने मौद्रिक नीतिलाई आर्थिक वर्षको बीचको समयमा चलाउने प्रचलन नरहेकाले व्यापक परिवर्तन हुने सम्भावना न्यून रहेको बताउँछन् ।
बैंकर्स संघले कर्जा नोक्सानीको व्यवस्थामा लचकता अपनाउन, प्राथमिकताका क्षेत्रहरूमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य कायम गर्नुपर्ने लगानीको समयसीमा एक वर्ष थप गर्न, निर्माण व्यवसायीलाई साँवा/ब्याज तिर्ने अवधि असार मसान्तसम्म थप गर्नेलगायतका सुझाव यसअघि नै राष्ट्र बैंकलाई दिइसकेको छ ।