लगानीका सम्भावनालाई अवसरमा बदलौं : अध्यक्ष ढकाल
Last updated at 08:24 am
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीका प्रशस्त सम्भावनाहरु रहेकोले ती सम्भावनाहरुलाई अवसरमा बदल्नुपर्ने बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यकममा अध्यक्ष ढकालले नेपालमा केहि छैन भन्ने गलत भाष्य स्थापित गरिएकाले त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नुपर्छ । यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सृजना गर्न सकिन्छ’, उनले भने ।
साथै उनले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताए ।अध्यक्ष ढकालले बुटबल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित संरक्षण, सम्बर्द्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा प्रशंसा गरे ।
कृषि, पर्यटन, उद्योग, व्यापार सबै दृष्टिले रुपन्देही नेपालकै उर्वर भूमी रहेको चर्चा गर्दै अध्यक्ष ढकालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटबल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, भन्सार र पछिल्लो समय निर्माण भएका अन्य भौतिक पूर्वाधारको विकास त्यसका आधारहरु रहेको समेत बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले विसं २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।