हुम्लाको गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालनमा
Last updated at 06:35 pm
वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुसी भएका छन्।
विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौं र पोखराबाट फोरजी सेवा शुरुआत गरेको जनाइएको छ।
यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका त्यहाँका नागरिक आजदेखि घरघरको कुनैमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताए।
दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले बताएको छ।
गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए।
च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुँने छ भने अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुने नेपाल टेलिकम हुम्लाका रिन्जिन लामाले बताए।
जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थालेको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए।