माघसम्ममा जीडीपी अनुपातमा मुलुकको सार्वजनिक ऋण ४५ % नाघ्यो
Last updated at 06:56 am
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब ६ करोड पुगेको छ ।चालू आर्थिक वर्षको शुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेकामा माघ मसान्तसम्ममा १ खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ।
कार्यालयको प्रतिवेदनमा हालसम्मको कुल सार्वजनिक ऋण जीडीपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुन आउँछ भनिएको छ ।कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३ प्रतिशत छ । माघ मसान्तसम्ममा आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड छ ।
विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ । सरकारले चालू आवका लागि ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो ।
हालसम्म २ खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको उक्त कार्यालयले बताएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो ।चालू आवमा ३ खर्ब ३० अर्ब आन्तरिक र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ । माघ मसान्तसम्ममा आन्तरिकतर्फ २ खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ । वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो ।
त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालू आर्थिक वर्षमा ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो सात महिनामा १ खर्ब ७८ अर्ब ७५ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३ दशमलव ३१ प्रतिशत हो ।