नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला
Last updated at 04:21 pm
नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न गरेको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।
प्रदेश स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरुप कार्यशाला आयोजना गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराएका थिए । उनले यस कार्यक्रममा सहभागीहरुलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सृजना र युवा पलायन रोक्नु रहेको बताए ।
सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा सन्देशदास श्रेष्ठ, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए भने मध्यस्थकर्ताको भूमिकामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ज्योती कोठारी थिए ।
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरेले स्वदेशमै पूँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि उद्यमशीलता प्रवर्द्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औंल्याए ।
नबिल बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित रहेको जानकारी दिंदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे ।
पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरुसँगको सहकार्यमा रोजगारी तथा नयाँ व्यवसाय सृजना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए ।
नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष निरौलाले स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए ।
नबिल एसएसई कोशी प्रदेशका संयोजक बेद संग्रौलाले सहभागी तथा अतिथिहरुलाई स्वागत गर्दै उद्यमशीलता प्रवद्र्धनमा निरन्तर सहयोगका लागि नबिल बैंकप्रति आभार व्यक्त गरे । उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्याएको सहयोगबारे चर्चा गरेका थिए ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।