७ महिनामा झन्डै १० अर्बको आयात, निर्यात सवा १ खर्बको मात्र
Last updated at 07:03 am
चालू आर्थिक वर्ष २०८१/ ०८२ को सात महिना(साउनदेखि माघ) को अवधिमा नेपालमा करिब १० खर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ।
भन्साल विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्ममा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको मालवस्तु आयात गरेको हो। यसैगरी, सोही अवधिसम्ममा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड रुपैयाँबराबरको निर्यात भएको छ।
अघिल्लो वर्षको सोही अवधिसम्ममा नेपालमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो भने निर्यात चाहिं ८६ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो।
विभागका अनुसार आयात व्यापार भने क्रमशः बढ्दै गएको छ। समीक्षा अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयात व्यापार भएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म व्यापार घाटा ६ दशमलव २ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
माघसम्म मुलुकको आयात–निर्यात अनुपात ११ दशमलव ४ प्रतिशत छ।