आगामी आवका लागि १९ खर्बको बजेट सिलिङ निर्धारण
Last updated at 06:59 am
आगामी आर्थिक वर्ष( आव ) २०८२/ ०८३ को बजेट १९ खर्ब रुपैयाँ हाराहारीमा आउने भएको छ ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन बुझाउँदै यस्तो सीमा निर्धारण गरेको हो ।आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीका अनुसार समितिले आगामी प्रत्येक तीन आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ को राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ ।
आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका पनि तयार पारेको छ ।