नाडा र नाडाका प्रादेशिक एशोसिएशन बीच अन्तरक्रिया कार्यक्रम आयोजना
Last updated at 05:57 pm
रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो ।
सो कार्यक्रममा व्यवसायीहरुले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसँगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंकबाट व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको गुनासो गरेका थिए ।
साथै उनीहरुले देशको राजस्व र रोगगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भए पनि सो अनुरुप सरकारको दृष्टिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरीवाना तिनु पर्ने अवस्था विद्यमान रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकीरहन गाह्रो भएको जस्ता प्रश्नहरु राखेका थिए ।
सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले सरकारले पनि नाडाको आवाज सुन्न थालेको सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म आफ्ना मागहरु सम्बोधन भएको बताए।
उनले सन्दर्भ मूल्यसूची समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिएको बताए । कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले आ -आफ्नो भनाइ राखेका थिए ।
यस किसिमका कार्यक्रमबाट नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।कार्यक्रममा नाडाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।