५० मेवा क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत् उत्पादन बन्द
Last updated at 05:50 pm
५० मेगावाट(मेवा) क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना मर्मत गर्नु परेकाले विद्युत् उत्पादन बन्द गरिएको छ ।
उक्त आयोजना लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पर्दछ । हिउँदको समय भएकाले हाल २८ मेवा विद्युत् उत्पादन भइरहेको बेला नेपाल विद्युत् प्राधिकरणसँग अनुमति मागेर ‘सट डाउन’ गरी मर्मत थालिएको आयोजनाले जनाएको छ ।
आयोजना स्रोतका अनुसार विद्युत् उत्पादन बन्द गरेर मर्मत कार्य भइरहेको छ।आयोजनाले आगामी शुक्रबारसम्म विद्युत् गृहको मर्मत हुने बताएको छ । केहिसमय अघि मर्स्याङ्दी नदीमा आएको बाढीले आयोजनाको टर्बाइनमा बालुवाका कणहरू थुप्रिएर क्षति पुर्याएको छ । आयोजनाका अनुसार यो वर्सेनि गर्ने नियमित मर्मत कार्य हो ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत चिनियाँ लगानीबाट नेपालमा पहिलो पटक निर्मित जलविद्युत् आयोजना हो ।आयोजना स्रोतका अनुसार दैनिक १० लाख युनिट बढी विद्युत् उत्पादन हुने उक्त आयोजना एक घण्टामात्रै बन्द हुँदा ५ लाख रुपैयाँ घाटा हुन्छ।
करिब १६ अर्ब रुपैयाँ लगानीमा निर्मित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी छ ।
सन् २०१३ को जनवरीमा शुरु भएर चार वर्षमा निर्माण सकिएपछि आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ ।