गत माघ महिनामा घरजग्गा कारोबार र राजस्व दुवै घट्यो
Last updated at 08:20 am
चालू आर्थिक वर्ष २०८१/८२ को माघ महिनामा घरजग्गा कारोबार घटेको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघ महिनामा देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो अघिल्लो महिनाको तुलनामा २ दशमलव ९१ प्रतिशतले न्यून हो। पुस महिनामा देशभर ४७ हजार ४७९ वटा घरजग्गा कारोबार भएको थियो।
गत वर्ष माघको तुलनामा यो वर्षको सोही अवधिसम्ममा घरजग्गा कारोबार ९ दशमलव ४७ प्रतिशतले घटेको छ। गत माघमा देशभर ५० हजार ९२१ वटा घरजग्गा किनबेच भएको थियो।
घरजग्गा कारोबार घटेसँगै राजस्व पनि घटेको छ। माघमा सरकारलाई घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
गत माघको तुलनामा यो वर्ष १४ दशमलव ७१ प्रतिशतले राजस्व घटेको छ। गत वर्ष माघमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब ३७ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पूँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पूँजीगत लाभकरबाट प्राप्त हुन्छ।