नेशनल लघुवित्तको नाफामा शतप्रतिशत वृद्धि,यस्ता छन् अन्य सूचक
Last updated at 02:33 pm
नेशनल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार उक्त अवधिसम्ममा कम्पनीको खुद नाफा शतप्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कम्पनीले पुस मसान्तसम्ममा २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६ दशमलव ६२ प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १० करोड ४१ लाख रुपैयाँ थियो।
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेखनीय वृद्धि गरेकाले नाफामा दोब्बर वृद्धि भएको देखिन्छ। समीक्षाअवधिमा खुद ब्याज आम्दानी ८७ दशमलव ९६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७ दशमलव २५ प्रतिशतले घटेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी ४६ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ भने सञ्चालन मुनाफा १०६ दशमलव ६२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ दशमलव ३४ रुपैयाँ छ। कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर ३२ दशमलव ३४ रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१९दशमलव ६७ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ४० दशमलव ९१ गुणा छ। कम्पनीको रिभर्ज कोषमा १ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ।
त्यस्तै कम्पनीले सो अवधिसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ ।
देशभर लघुवित्त सेवा विस्तार, ७४ जिल्लाका विपन्न परिवारलाई वित्तीय पहुँच
राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रूपमा स्थापना कालदेखि नै कमपनी नेपालको वित्तीय समावेशीकरण वृद्धि गर्ने र गरिबी न्यूनीकरणमा योगदान दिने लक्ष्यका साथ अगाडि बढिरहेको छ। हाल कम्पनीले देशभर १८४ शाखा कार्यालयमार्फत ७४ जिल्लाका २ लाख ३५ हजार ८३० विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले छिटो, छरितो, विश्वासनीय र दिगो सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रविधिमा आधुनिकीकरण गरिएको बताए। यसका साथै कम्पनीले महिला उद्यमशीलता प्रवर्द्धन गर्दै कृषि, पशुपालन, सेवा व्यवसाय र लघुउद्यम सञ्चालनका लागि विशेष रूपमा केन्द्रित लघुवित्त सेवा उपलब्ध गराइरहेको पनि उनको भनाइ छ।
उनका अनुसार आगामी आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी लघुवित्त सेवा अझ प्रभावकारी रूपमा पुर्याउने योजना छ। ग्राहकको नवीनतम आवश्यकता अनुसार सेवा परिष्कृत गर्दै लैजाने संस्थाको व्यवस्थापन पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए ।