७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४०%, विकास खर्च १९ % मा सीमित !
Last updated at 02:09 pm
चालू आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो ।
तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् शुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालू आर्थिक वर्षमा १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख रुपैयाँ बराबर मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ ।
सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालू खर्च ४५ दशमलव ८२ प्रतिशत छ । चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा सात महिनामा ५ खर्ब २२ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ ।