सलिको र इनड्राइभ नेपाल बीच सम्झौता, प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित
Last updated at 08:52 am
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को सहकार्यमा दुर्घटना बीमा शुरुवात गरेको छ ।
यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
सम्झौता पत्रमा इनड्राइभ नेपालका रिप्रिजेन्टेटिभ रीता पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रुपयाँ भुक्तानी गरिने छ भने नाबालिक यात्रुहरुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ।
इनड्राइभ नेपाल रिप्रिजेन्टेटिभ पोखरेलले यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्ने बताइन् । साथै कम्पनीले यस बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने विश्वास लिएको बताएको छ ।