भायानेट बन्यो महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक
Last updated at 07:27 pm
काठमाडौंको दशरथ रंगशालामा आगामी फागुन ५ देखि १४ गतेसम्म आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजकमा इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ हुने भएको छ।
हालै आयोजित कार्यक्रममा भायानेट कम्युनिकेशन प्रालि र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकूद, मनोरञ्जन र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू भएकाले इन्टरनेट व्यवसायलाई पनि नजिकबाट छोएको बताए।
साथै उनले ठूला खेलकूद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्ने तथा हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक रहेको बताए। भायानेटले यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको बताएको छ।