साइपालमा एभेरष्ट बैंकको १२९ औं शाखा : ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच
Last updated at 07:35 am
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारका क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका– १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, एभरेस्ट बैंकको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साइपाल गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरू, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेल, संघीय सरकार तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि, बैंकका कर्मचारीलगायत स्थानीयवासीको उपस्थिति थियो ।
हालैमात्र सञ्चालनमा आएको यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा वाणिज्य बैंकको शाखा पुगेको छ ।
यो पालिका भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अति दुर्गम मानिन्छ । मोटरबाटोको समेत पहुँच नभएको तथा सात–आठ घण्टाको पैदल यात्रा गरी पुग्नुपर्ने यस पालिकामा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउने कठिन तथा चुनौतीपूर्ण कार्य सफल भएको भन्दै गाउँपालिका अध्यक्ष बोहराले नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरे ।
देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न सकेकोमा बैंकका सञ्चालक समिति अध्यक्ष वैद्यले खुसी व्यक्त गरे ।
गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए । साथै, अब सानोतिनोे बैंकिङ सेवाका लागि पनि सदरमुकाम धाउनुपर्ने साइपालवासीको बाध्यताको अन्त्य भएको बताए । अन्य सुविधा पनि बिस्तारै गाँसिँदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलापसमेत चलायमान हुने विश्वास व्यक्त गरे ।
देशकै अग्रणी बैंकका रूपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल कम्पनीले देशैभर १३१ शाखा सञ्जाल, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा १६७ वटा एटीएमबाट सेवा दिंदै आइरहेको छ ।
साथै, विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको उक्त कम्पनीले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिंदै आइरहेको छ । साथै कम्पनीले भारतको नयाँदिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।