सर्वोत्तम सिमेन्टको बिक्री आम्दानीका साथै अन्य सूचकमा उल्लेख्य सुधार
Last updated at 05:48 pm
सर्वोत्तम सिमेन्टले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ६८९ दशमलव २४ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी र वित्तीय खर्च घटेका कारण खुद नाफा बढ्नमा टेवा पुगेको हो।समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५ दशमलव ९४ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा पनि ४८ दशमलव ७४ प्रतिशतले वृद्धि भएको देखिन्छ।
कम्पनीको वित्तीय खर्च भने ३१ दशमलव ९६ प्रतिशत र कुल खर्च शून्य दशमलव ७७ प्रतिशतले घटेको छ।कम्पनीको रिजर्भ कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित छ।
यसैगरी, समीक्षा अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ दशमलव २८ रुपैयाँ बढेर ९ दशमलव ७० रुपैयाँ पुगेको छ।
त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १८६दशमलव ६६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७५ दशमलव २५ गुणा छ।कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ ।