दोस्रो त्रैमासमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३७% ले गिरावट
Last updated at 05:27 pm
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नाफामा गिरावट आएको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो नाफा गत आवको तुलनामा ३७ प्रतिशतले घटी हो।
यसैगरी, समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिमा १ अर्ब ५० करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ छ भने अन्य इक्विटीमा १ अर्ब २४ करोड रुपैयाँ छ । कम्पनीको महाविपत्ति कोषमा १९ करोड ९४ लाख रुपैयाँ छ। गत आवमा महाविपत्ति कोषमा १८ करोड ८२ लाख रुपैयाँ थियो। कम्पनीको रिजर्भ कोषमा २ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ ।
यसैगरी, चालू आवको पुस मसान्तसम्ममा कम्पनीले पुनर्बीमातर्फ ७३ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिसम्ममा यसतर्फ कम्पनीले ७१ करोड ५२ लाख खर्च गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्ममा ८० करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिसम्ममा कम्पनीले ७९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो गत आवको सोही तुलनामा १ दशलमव ४२ प्रतिशतले बढी हो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १६ दशमलव शून्य ३ रुपैयाँ छ। त्यसैगरी, मूल्य आम्दानी अनुपात ५० दशमलव ५८ गुणा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २८७ दशमलव ३४ रुपैयाँ छ।