कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल शुरु
Last updated at 07:29 am
द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रालिले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम शुरु गरेको छ ।
“स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” नामक मुख्य परियोजना अन्तर्गत यो पहल शुरु गरिएको हो । यसको मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पुर्याउने लक्ष्य छ ।
यस वृक्षरोपण कार्यक्रमको औपचारिक उद्घाटन आइतबार काठमाडौंमा गरिएको छ । कार्यक्रममा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ । जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकुलता जस्ता समस्याले स्थितिलाई झनै गम्भिर बनाएको छ । यी चुनौतीहरूको समाधान गर्न यस परियोजनाले बगैंचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको छ ।
यो कार्यक्रममा बगैंचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिनेछ जसले कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पुर्याउनेछ ।
द कोका–कोला फाउण्डेशनका प्रेसिडेन्ट कार्लोस पागोआगाले द कोकाकोला फाउण्डेशनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको बताए । साथै उनले नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सृजना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुने पनि बताए ।
वृक्षरोपण कार्यक्रमको पहिलो चरण अन्तर्गत कञ्चनपुर, कैलाली, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी र पर्सामा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणमा कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा वृक्षारोपण विस्तार हुनेछ । यस पहलमार्फत हजारौं कृषकहरूले फलफूल उत्पादन वृद्धि, बाली विविधिकरण, माटोको स्वास्थ्य सुधार, पानी संरक्षण, रोग नियन्त्रण र आम्दानीका अतिरिक्त अवसरहरू प्राप्त गर्नेछन् ।
कृषि वन प्रणालीलाई समावेश गर्दै यस परियोजनाले वातावरण संरक्षण र आउँदो पुस्ताका लागि जमिन व्यवस्थापनमा योगदान पुर्याउनेछ । साथै, यस परियोजनाले कार्बन क्रेडिट प्रणालीको पनि समावेश गर्दै कृषकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिनुका साथै थप आम्दानीका अवसरहरू पनि प्रदान गर्नेछ ।
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले योे पहलले नेपालको कृषि र वातावरणीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यसैगरी, सहारा नेपालका अध्यक्ष भरत कुमार गिरीले यस पहलमार्फत कृषकहरूलाई दिगो कृषि अभ्यासहरूमा सशक्त बनाउने र उत्पादनशीलता वृद्धि गर्नुका साथै वातावरणीय संरक्षणमा पनि सहयोग पुर्याउने बताए ।
त्यसैगरी, वराहा क्लाइमेटएजी प्रालिका प्रतिनिधि कौशल बिष्टले कृषि वन प्रणाली र कार्बन क्रेडिट प्रणालीलाई एकीकृत गर्दै कृषकहरूलाई आर्थिक वृद्धिका साथसाथै जलवायु प्रतिरोधात्मक क्षमता निर्माणमा पनि सहयोग पुर्याउने बताए ।
द कोका–कोला फाउण्डेशनले नेपालमा वातावरण संरक्षण, पानी व्यवस्थापन, विपद् राहत र आर्थिक विकासमा केन्द्रित विभिन्न पहलहरू गर्दै आएको बताएको छ।