पाथीभरा मन्दिरसम्म पुग्ने केबलकारले स्वयं पहिचानको प्रवर्द्धन गर्छ : अध्यक्ष ढकाल
Last updated at 10:11 am
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पाथीभरा मन्दिरसम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले स्वयं पहिचानको प्रवर्द्धन गर्ने बताएका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा पाथिभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै दुस्प्रचार गरिएकोले आफूले यसको खण्डन गर्ने बताए।
साथै उनले वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गरिने पनि बताए । त्यसरी रोपिएका रुखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ थियो ।
‘केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन’, उनले भने, ‘केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्याउने छैन । यसका साथै, स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।’
उनले विकासका काममा वादविवाद देखिनु राम्रो नभएको भन्दै यस्ता कार्यहरूले देशमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने पनि बताए ।परियोजनामा हुने अवरोधले विश्वव्यापी रूपमै नकारात्मक सन्देश जाने भन्दै उनले चिन्ता व्यक्त गरे ।उनले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवाला पक्षसँग आग्रह पनि गरेका छन् ।
पाथिभरामा केबलकार निर्माणको प्रसँग चार दशकअघि उठे पनि यसका लागि विसं २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो ।
करिब २ वर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहले यो आयाजना निर्माणमा गति दिन थालेको हो ।