वीरगञ्जमा शशीला मोटर्सको नयाँ बिक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड
Last updated at 07:35 am
शशीला मोटर्स प्रालिले वीरगञ्जमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका छन्।
सो अवसरमा उनले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।
शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले जहिले पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले बिक्री मात्र नभई, बिक्री पछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे।
कम्पनीले वीरगञ्ज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज, र बुटवलमा समेत छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा (एमाले) नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ। यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ।
शशीला मोटर्सले हाइगर, किटोन, भेन्चीलगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको बिक्री गर्दै आएको छ ।