सूचना प्रविधि क्षेत्रमा विकास गर्न सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
Last updated at 06:09 pm
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेको बताए ।
बिहीबारबाट काठमाडौंमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।
आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खर्बौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे ।
अन्य विभिन्न कानूनका साथै आइटी तथा स्टार्टअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकुल नीतिगत सुधारका लागि सरकारसँग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिंदै अध्यक्ष ढकालले महासंघको पहलपछि सरकारले नेपाली सूचना प्रविधिक्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।
‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानूनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ ’, उनले भने ।
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत उनले बताए ।
सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरेको बताए।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुखद भएको बताए । पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उनले विकासलाई राजनीति र धर्मभन्दा माथी राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे ।