४६ % ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस ३९.३४ रुपैयाँ
Last updated at 06:09 pm
माउन्टेन इनर्जी नेपालले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६दशमलव ३ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८दशमलव ५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ४० लाख कायम भएको छ। विद्युत् बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेकोलगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुन बाँकि छ। यस अवधिमा कम्पनीको रिटेन्डअर्निंङ १ अर्ब २४ करोड रहेको छ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रतिशेयर आम्दानी १९ दशमलव ६७ रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी भने ३९ दशमलव ३४ रुपैयाँ हुन आउँछ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ दशमलव ६६ रुपैयाँ छ। यस अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ६० करोड २७ लाख छ।
कम्पनीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो । कम्पनीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।
कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ। कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो। सोही आयोजनामा लगानी गर्न कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी पनि गरेको छ।