आशा लघुवित्तको नाफामा आकर्षक सुधार
Last updated at 11:54 am
आशा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त अवधिसम्ममा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर आकर्षक सुधार गरेको छ ।
गत वर्षको सोही अवधिसम्ममा भने कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानीमा थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा सुधार भएको देखिन्छ।
यसैगरी, कम्पनीले हालसम्ममा ३४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । यो गत आवको भन्दा १३७ दशमलव १७ प्रतिशतले बढी हो ।
यसैगरी, गत आवको सोही अवधिसम्ममा ३ करोड २८ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनी हाल ३ करोड ३६ लाख रुपैयाँ नाफामा छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा ३४ करोड १३ लाख रुपैयाँ सञ्चित छ ।
त्यस्तै कम्पनीको खराब कर्जामा सामान्य सुधार भएको छ ।हाल कम्पनीको खराब कर्जा ४.९२ प्रतिशत छ । गत आवको सोही अवधिसम्ममा यस्तो कर्जा ४ दशमलव ९३ प्रतिशत थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ४५ रुपैयाँ छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ४७ रुपैयाँ ऋणात्मक थियो । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ दशमलव ९५ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ छ ।