नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व फेरि बढाउने योजना
Last updated at 06:03 pm
सरकारले नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याउने योजना फेरि दोहोर्याएको छ ।यसअघि विसं २०६५ सालमा आईपीओ निष्कासन गरेर कम्पनीमा सर्वसाधारणको शेयर स्वामित्व कायम गरिएको थियो ।यसअघि कम्पनीले न्यूनतम ६०० रुपैयाँमा शेयर निष्कासन गरेको थियो।
हाल टेलिकममा सरकारको ९२ र सर्वसाधारणको ८ प्रतिशत शेयर स्वामित्व छ ।हुन त कम्पनीका ग्राहकलाई यसअघि २०७८ को बजेट वक्तव्यमार्फत् साधारण शेयर निष्कासन गरिने उल्लेख गरिएको थियो ।तत्कालिन सरकारले टेलिकमको स्वामित्व र प्रतिफलमा अब सेवाग्राहीको पहुँच विस्तार गर्ने योजना बनाएको थियो ।
बजेट वक्तव्यमा कम्पनीका मोवाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिने उल्लेख थियो।
यो कुरा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपाल टेलिकमको मंगलबार आयोजित वार्षिकोत्सवको अवसरमा शेयर संरचना परिवर्तन गरी सर्वसाधारणको उपस्थिति बढाउने बताएका हुन् । उनले चालू आर्थिक वर्ष २०८१/८२ मै टेलिकमको २५ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा दिने पनि बताए ।तर मन्त्रीले यस्तो बताएता पनि कार्यान्वयन हुन्छ या हुँदैन, अहिले भन्न सकिने स्थिति भने छैन । आफ्नो शेयर स्वामित्वलाई झार्ने योजना बनाएको कुरा मन्त्रीले बताएता पनि स्वामित्व र प्रतिफलबारे हालसम्म पनि नयाँ मोडालिटी प्रस्ताव गरेको छैन ।
‘नेपाल टेलिकम सरकारी कम्पनी हो भन्ने बित्तिकै सर्वसाधारणमा यसको अपनत्व कम हुने देखिएको छ,’ उनले भने, ‘यसको कार्यसम्पादन प्रभावकारी बनाउन पनि सर्वसाधारणको स्वामित्व बढाउनुपर्ने देखिन्छ ।’
शेयर स्वामित्वअनुसार वार्षिक रुपमा कम्पनीले ग्राहकलाई लाभांश दिने गर्दछ । अहिले यस्तो लाभांश शेयर धनी र सरकारले मात्रै पाइरहेको छ ।नेपाल स्टक एक्सचेन्जमा हाल उक्त कम्पनीको १८ करोड कित्ता शेयर सूचीकृत छ । मंगलबारसम्ममा कम्पनीको शेयर प्रतिकित्ता ९१० रुपैयाँमा किनबेच भएको थियो ।
कम्पनीको बजार पूँजीकरण १ खर्ब ६३ अर्ब ८० करोड रुपैयाँ कायम छ । यसैगरी, कम्पनीको कुल चुक्तापूँजी १८ अर्ब छ ।आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड रुपैयाँ र खुद मुनाफा ६ अर्ब २३ करोड छ । चालू आर्थिक वर्षको ६ महिनामा कम्पनीले २० अर्ब १२ करोड आम्दानी गरेको छ ।