९० मेवा क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजनालाई जुट्यो साढे १० अर्ब लगानी
Last updated at 10:06 am
९० मेगावाट(मेवा) क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।
लगानी सम्झौतामा शुक्रबार सम्झौता भएको छ । उक्त सम्झौतामा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंक बीच ऋण सम्झौता भएको छ ।
गोरखा, लमजुङ र तनहुँ क्षेत्रमा बन्ने यस आयोजनामा कुमारी बैंकको अगुवाइमा १० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी हुने छ।
कम्पनीका अनुसार निर्माण अवधिको ब्याजसहित यस आयोजनामा २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी हुने छ ।
यो आयोजनामा कुमारी बैंकले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थ बैंकले २ अर्ब र कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने छन् । स्वपूँजी भने अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ ।
डोल्मा इम्प्याक्ट फन्डसमेत यो आयोजनामा लगानी गर्न इच्छुक देखिएको कम्पनीको भनाइ छ । यो समूहले बनाइरहेको २२ मेगावाट क्षमताको सेतीखोला हाइड्रो अहिले निर्माणको अन्तिम चरणमा छ ।
यो आयोजनाको १ कात्तिक २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झैता भएको थियो । आयोजनाले २०८६ वैशाख २२ गतेदेखि उत्पादन थाल्ने लक्ष्य छ ।