एनसेल र क्यान बीच महिला टीट्वान्टी आई त्रिकोणात्मक सिरिजका लागि सहकार्य

Last updated at 04:51 pm
दूरसञ्चार सेवा प्रदायक एनसेलले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै ‘महिला टी-ट्वान्टी आई त्रिकोणात्मक सिरिज’ मा प्रायोजन गरेको छ। क्रिकेटप्रति प्रतिबद्धता जनाउँदै कम्पनीले नेपाली महिला क्रिकेटको विकास र प्रतिभा प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको बताएको छ।
त्रिकोणात्मक सिरिज माघ १७ गतेदेखि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुरु भएको छ। प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सहभागी छन्। क्यानले सिरिजभरि निःशुल्क प्रवेशको व्यवस्था गर्दै नेपाली क्रिकेटप्रेमीलाई टोलीको समर्थन गर्न आग्रह गरेको छ।
सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्स र थाइल्याण्डसँग तीन तीन पटक प्रतिस्पर्धा गर्नेछ। नेपालले माघ १९, २२ र २५ गते थाइल्याण्डसँग तथा माघ २०, २३, र २५ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाली टोली इन्दु बर्माको कप्तानीमा मैदान उत्रिएको छ।
कम्पनीले खेलकूद प्रवर्द्धनमा निरन्तर योगदान दिंदै आएको बताएको छ। यसअघि पनि कम्पनीले नेपाल प्रिमियर लिग, त्रिकोणात्मक टी-ट्वान्टी सिरिज २०२४, आईसीसी लिग २, नेपाल-क्यानडा एकदिवसीय सिरिज, फुटबल प्रतियोगिता जस्तै बिर्तामोड गोल्ड कप, झापा गोल्ड कप लगायतका खेलहरूमा सहयोग पुर्याएको थियो।
कम्पनीले सीएसआर पहल अन्तर्गत राष्ट्रिय पारा खेलाडीहरूको समर्थन, विशेष गरी प्यारालिम्पिक्समा सहभागी खेलाडीहरूको सम्मान गर्दै आएको छ। गत वर्ष एनसेल फाउन्डेसनले प्यारालिम्पियन पालेशा गोवर्धनलाई १० लाख पुरस्कार प्रदान गरेको थियो।
कम्पनीले क्रिकेट र खेलकूद प्रवर्द्धन गर्दै युवा सशक्तिकरण, सामाजिक एकता र नवप्रवर्तनलाई प्राथमिकता दिने पनि बताएको छ।