सन् २०२४ मा सर्वाधिक कार बिक्री गर्ने कम्पनी बन्यो टोयोटा
Last updated at 07:27 am
सन २०२४ मा जापानको कार निर्माता कम्पनी टोयोटा ब्राण्ड सर्वाधिक कार बिक्रेता बनेको छ । टोयोटाले प्रतिस्पर्धीहरूभन्दा निकै धेरै कार बिक्री गरेको छ । टोयोटा ग्रूपमा टोयोटा, लेक्सस तथा दायहात्सु जस्ता ब्रान्ड रहेका छन् ।
ग्लोबल कार सेल्सको तथ्यांक अनुसार सन् २०२४ मा टोयटाका ९० लाख ५२ हजार कार विश्वबजारमा बिक्रीवितरण भएको छ।योसँगै टोयोटा लगातार पाँचौं वर्ष विश्वको सर्वाधिक कार बिक्रेता बनेको छ । विश्वबजारमा खरिदबिक्रीका हिसाबले समग्रमा पहिलो नम्बरमा भए पनि सन् २०२३ को तुलनामा टोयटाको बिक्री भने ३ दशमलव ७ प्रतिशतले घटेको छ ।
ईभीको तुलनामा हाइब्रिड कारको बिक्री अधिक छ । सन् २०२४ मा हाइब्रिड कारले ईभीलाई उछिनेको छ । हाइब्रिडको बिक्री बढ्नु टोयोटाको लागि ठूलो समाचार हो । ऊ हाइब्रिड प्रविधिमा अग्रणी छ ।
विश्वमा धेरै कार बेच्ने कम्पनीको सूचीको दोस्रो नम्बरमा फक्सवागन छ । जर्मनी ब्राण्ड फक्सवागनले गत वर्ष ७६ लाख ५० हजार वटा कार बिक्रीविरतण गरेको छ ।
तेस्रो स्थानमा भने कोरियन ब्राण्ड हुन्डाई छ । सन् २०२४ मा हुन्डाईका ६२ लाख ६० हजार कार बिक्रीवितरण भएका छन् । चौथोमा फोर्ड र पाँचौं स्थानमा होण्डा छ । गत वर्ष अमेरिकी कम्पनी फोर्डका ५६ लाख ७३ हजार र जापानी कम्पनी होण्डाका ५२ लाख वटा कार विश्वव्यापी रुपमा बिक्री भएका छन् ।
तर बिक्रीका हिसाबले विश्वको शीर्ष नम्बरमा पर्न नसकेता पनि सन् २०२४ मा चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले कार बिक्रीको दर ४२ प्रतिशतले बढाएको छ । सन् २०२४ मा बीवाईडीले विश्वव्यापी रूपमा ३३ लाख ३९ हजार कार बिक्रीवितरण गरेको छ ।उता अमेरिकी कार निर्माता कम्पनी टेस्लाले उक्त अवधिमा १७ लाख ८९ हजार थान बिक्रीवितरण गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.१ प्रतिशतले बढी हो ।
त्यसो त बीवाइडीले शुरुवाती समयदेखि नै विश्वका ठूला भनिने फक्सवागन, होन्डा, फोर्ड, हुन्डाई जस्ता कम्पनीलाई कडा टक्कर दिन थालेको देखिन्छ ।एजेन्सीहरु