महालक्ष्मी विकास बैंक : आधार दर र कोष लागतमा सुधार,वित्तीय र प्रविधिगत क्षेत्र उत्कृष्ट
Last updated at 07:00 pm
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरणमा उत्कृष्ट प्रदर्शन गर्दै वित्तीय परिसूचकहरुमा आफ्नो स्थिति बलियो बनाएको छ।
कम्पनीको आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत रहेको छ, जुन धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा कम हो।
आधार दर कम हुँदा ऋणीहरुले कम ब्याजदरमा ऋण लिन सक्नेछन्, जसले ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुर्याउँछ। कम्पनीको न्यूनत्तम पुँजी कोष अनुपात १४.९९ प्रतिशत छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभन्दा माथि छ। यसले बैंकलाई जोखिम व्यवस्थापन र व्यवसाय विस्तार गर्न सघाउ पुर्याउनेछ।
आर्थिक प्रदर्शनका हिसाबले पनि कम्पनीले गत वर्षको तुलनामा ठूलो प्रगति गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रुपैयाँ खुद मुनाफा भएकोमा ३३ प्रतिशतले वृद्धि गरी २०८०/८१ मा ५०.०३ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। साथै, कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ र शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत पुगेको छ।
डिजिटल बैंकिङ्ग सेवाहरुमा पनि कम्पनीले उत्कृष्ट काम गरेको बताएको छ। कम्पनीले महालक्ष्मी स्मार्ट साथी एपमार्फत ग्राहकलाई मुद्धती खाता खोल्ने, कर्जा माग गर्ने, र केवाईसी फारम भर्ने जस्ता अत्याधुनिक सुविधाहरु उपलब्ध गराएको छ, जसले ग्राहक अनुभवलाई अझ सहज बनाएको छ।
यसआधारमा पनि कम्पनीले वित्तीय र प्रविधिगत क्षेत्र दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बजार स्थिति बलियो बनाइरहेको बताएको छ ।