राजस्व संकलनमा निजी क्षेत्रले सहयोगी भूमिका खेल्न पर्छ : अर्थमन्त्री
Last updated at 07:42 am
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा निजी क्षेत्रले सहयोगी भूमिका खेल्नु पर्ने बताएका छन् ।
आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रले सहयाग गर्नुपर्ने बताए । साथै उनले निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई यसतर्फ पहल गर्न पनि निर्देशित गर्न आग्रह गरेका छन्।
उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्याउनु परेको बताए । उनले उत्पादन, उत्पादकत्व र कुल गार्हस्थ उत्पादन(जीडीपी) वृद्धि गर्न अध्यादेश ल्याइएको बताए ।सरकार विशेष परिस्थितिमा बनेको भन्दै उनले अहिलेको सरकार सरकारहरूको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए ।
उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनले बताए ।
‘यो सरकार विशेष परिस्थितिमा बनेको छ । विशेष अभिभारा पूरा गर्नका लागि बनेको छ । यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ । त्यसबाट पछि छुट्ने छूट यो सरकारलाई छैन । समस्त निजामती प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्त्वपूर्ण अंग हो । त्यसकारण आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ पूरा गर्नुस्’ उनले भने ।