सुशासन र सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न कानून संशोधन : अर्थमन्त्री
Last updated at 10:56 am
अर्थमन्त्री विष्णु पौडेलले सुशासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समस्या समाधान गर्न अध्यादेशबाट कानून संशोधन गर्नुपरेको बताएका छन् ।
शनिवारदेखि विराटनगरमा उद्योग सङ्गठन मोरङको आयोजनामा शुरु भएको विराट एक्स्पो २०२५ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन विद्यमान कानूनमा देखिएका अवरोधहरूलाई हटाउने उद्देश्यले एक साथ अध्यादेशबाट २९ कानून संशोधन गरेको बताए ।
साथै उनले नयाँ सरकार निर्माण पश्चात् मुलुकको अर्थतन्त्रमा सुधार आउन शुरु भएको बताएका छन् । राजनीति दुरुस्त नभई अरू कुनै क्षेत्रमा सुधार नहुने बुझेर नै नेकपा(एमाले) र नेपाली काँग्रेसमिलेर बनेको सरकारले राजनीतिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको दाबी थियो ।
उत्पादन, रोजगारी, बैंकको तरलता, ब्याजदर, वैदेशिक मुद्रा सञ्चिती जस्ता सबै आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजाहरू हासिल गरेको बताउँदै उनले अझ गतिशील ढङ्गले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए ।
सरकारले सात वटै प्रदेशमा एक/एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको खोजी गर्न आग्रह गरे ।
‘मुलुकलाई एक थान सरकार दिनका लागि मात्रै यो सरकार बनाएको हैन । नागरिकमा परेको निराशा चिर्न, उत्पादन र लगानीमा बृद्धि गर्दे उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याएर रोजगारी सिर्जना गर्नका लागि सरकार बनेको हो’, पौडेलले भने, ‘कुरेर बस्ने र नियमित ढङ्गको काम गरेर बस्ने पक्षमा सरकार छैन । त्यसैले महत्त्वपूर्ण अध्यादेश ल्याएको हो ।’
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकोले विदेशी लगानी भित्रिन छोडेको बताए ।