उद्योगी व्यवसायीको सरकारलाई सुझाव : भन्सार जाँचपास सहज र झन्झटरहित बनाऔं
Last updated at 07:23 am
उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् ।
साथै उनीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभुती गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने बताएका छन् ।
७३ औं अन्तरराष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उनीहरुले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ति वस्तुलाई स्पष्ट गरी भन्सार दरहरुको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए ।
सो अवसरमा अर्थसचिव डा रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजिकरण गर्ने गरि नै नीतिगत सुधार गर्दै आइरहेको बताए । उनले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन नभई व्यापार सहजिकरण र निर्यात प्रवर्द्धन नै भएको बताए ।उनले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकोले कहिलकाहीं व्यापारमा पनि समस्याहरु आउने गरेको बताए ।
साथै उनले अहिले विश्व परम्परागत व्यापारबाट आधुनिकतातर्फ गईरहेको सन्दर्भमा नयाँ पुस्तालाई व्यापार व्यसायमा प्रोत्साहन गर्नु पर्नेमा समेत जोड दिए ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ FNCCI का अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्सारका सबै गतिविधिहरुले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यवसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तरराष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्शन र टीएफए) अनुरुप नयाँ भन्सार विधेयक संसदमा टेवल हुन लागेको विषय सराहनायोग्य रहेको बताए ।
भन्सार विभागमा महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवर्द्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरि नै भन्सार प्रशासनले काम गरिरहेको बताए ।
उनले भन्सार प्रसाशन अन्तरराष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजिकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरि नै अगाडि बढिरहेको बताउँदै आर्थिक अनुुशासनको पक्षमा सबै इमान्दार हुनु पर्ने धारणा राखे ।