राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा अर्थमन्त्री : मुलुकको अर्थतन्त्र सुधार हुँदै
Last updated at 01:27 pm
राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा लगाउन आग्रह गर्दै उनले औसत कार्यभन्दा असाधारण कार्य गर्न आवश्यक रहेको बताए ।
उनले बैंकको ६० औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गरेका थिए । बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्टरउत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । यो बैंकले पूँजीको विकासको लागि ल्याउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको बताए ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए ।
उनले बैंकले सुन खरिदबिक्री गर्ने कार्यसमेत शुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदैभर्खरै आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पौष २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए ।
२०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्तापूँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । उनले २०८१ पौष मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष डा रेवतबहादुर कार्की, बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा।वा।बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा।वा।बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट वित्तीय साक्षरताका लागि प्रभातफेरीकार्यक्रमको आयोजना गरिएको थियो ।
६० वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसँग कारोबार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ ।
भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।