७ विकास बैंक र ८ वित्त कम्पनीका सीईओ राष्ट्र बैंकको कारबाहीमा
Last updated at 01:28 pm
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको पुष्टि भएपछि सात वटा विकास बैंक र आठ फाइनान्स कम्पनीका सीईओलाई कारबाहीस्वरूप सचेत गराइएको छ ।
‘पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा ती संस्थाहरूबाट प्रवाह भएका कर्जामध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखापरीक्षणबाट तयार गरी यस बैंकमा प्रतिवेदन पेस भएको छ’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सोसम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती वित्तीय संस्थाका कार्यकारी प्रमुखलाई सचेत गराइएको छ ।’
लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ कारबाहीमा परेका छन् ।
समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओ पनि कारबाहीमा परेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।