डेढ अर्बमा बन्यो चारतारे बेस्ट वेस्टर्न प्लस, माघ ९ गतेदेखि सञ्चालनमा
Last updated at 05:46 pm
काठमाडौंको गौशालास्थित पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ निर्माण कार्य पुरा भएको छ ।
उक्त होटल आगामी माघ ९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने छ । होटल उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले गर्ने बताइएको छ ।
बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो । यो ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो । चारतारे स्तरको होटल बेस्ट वेस्टर्न प्लस स्थापना गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको होटलका अध्यक्ष रामेश्वर अर्यालले बताएका छन् ।
कम्पनीका अनुसार होटलमा सुइट र डिलक्स गरी ८७ कोठा छन् । होटलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक ८०० भन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हल, फिटनेस सेन्टर, स्पालगायत छन् ।होटलमा १५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट एकदमै नजिक रहेका कारण होटल बेस्ट वेस्टर्न प्लस चाँडै बजारमा स्थापित हुने अपेक्षा गरेको छ ।होटल बेस्ट वेस्टर्न प्लसको व्यवस्थापन अमेरिकी होटल व्यवस्थापन कम्पनी बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोर्ट्स (बीडब्लू) ले सम्हालेको छ ।
सन् १९४६ मा अमेरिकाको एरिजोनामा स्थापना भएको बीडब्लूले विभिन्न देशमा गरी हाल ४ हजार ७००भन्दा बढी होटल व्यवस्थापन गर्दै आएको छ ।
बीडब्लूले पाँचतारे स्तरका होटलका लागि बेस्ट वेस्टर्न प्रिमियर, चारतारेका लागि बेस्ट वेस्टर्न प्लस र तीनतारेका लागि बेस्ट वेस्टर्न ब्रान्डमा होटल व्यवस्थापन गर्दै आएको छ ।