रणनीतिक योजनाका साथ काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन
Last updated at 09:02 am
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन् ।
मंगलबारअर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिए । उनले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखापरेका समस्याहरूलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले समस्यालाई आआफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनीयतालाई बढाउने गरी काम गर्न निर्देशन दिए । साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए ।
सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरूले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पूँजीको वृद्धि र लगानी विस्तारका लागि केन्द्रित हुने बताए ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अध्यक्ष तथा प्रमुखहरूको सहभागिता थियो ।