दोश्रो त्रैमासमा समृद्धि फाइनान्स ६.२८ करोड घाटामा
Last updated at 06:04 pm
समृद्धि फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
कम्पनीले चालू आर्थिक वर्षको उक्त अवधिसम्ममा ६ करोड २८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आवको सोही अवधिसम्ममा उक्त कम्पनी २ करोड १३ लाख रुपैयाँ नोक्सानीमा थियो।
कम्पनीको खराब कर्जा बढेका कारण नोक्सानी बढेको देखिन्छ ।त्यस्तै,सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि १७६.१९ प्रतिशतले वृद्धि भएको देखिन्छ। यसका साथै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १७.५७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ। कम्पनीको इम्पेरिमेन्ट चार्ज ६२ लाख रुपैयाँबाट बढेर ६ करोड १२ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी १५ दशमलव ३४ रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य मुनाफा ६८ करोड १ लाख ९६ हजार रुपैयाँ ऋणात्मक छ।
समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोष ४० करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ। यसका साथै कम्पनीले उक्त अवधिसम्ममा कम्पनीले २ अर्ब ५८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी ८१ करोड ८९ लाख रुपैयाँ छ ।