उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारीका क्षेत्रमा बैंकको लगानी बढाउनु पर्छ : अर्थमन्त्री
Last updated at 07:50 am
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सृजना गर्ने क्षेत्रमा बैंकको लगानी बढाउँदै लैजानु पर्ने बताएका छन्।
कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भने, “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सृजना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ ।”
साथै उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन्। बैंकहरुमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको पनि उनले बताए।
उनले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिए । “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने । कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उनको भनाइ थियो ।
“मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भने ।
बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उनको भनाइ थियो ।
बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानून र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।
आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान पुर्याएको उनको भनाइ थियो ।
विसं २०२४ माघ ७ गते ५ करोड अधिकृत पूँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो । कम्पनीले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण,औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि कर्जा प्रदान गर्दै आएको छ ।
एक तथ्यांक अनुसार अहिले कम्पनीमा ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व छ । कम्पनीले हालसम्म १ लाख ५१ हजार कर्जा ग्राहकमा करिब २ खर्ब ६ अर्ब कर्जा लगानी गरेको छ । त्यसैगरी करिब २० लाख ३४ हजार निक्षेपकर्ताको २ खर्ब ५९ अर्ब निक्षेप परिचालनमा छ ।
कम्पनीको अधिकृत पूँजी २५ अर्ब, जारी पूँजी १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार ३०० रुपैयाँछ ।यसैगरी, कम्पनीको पूँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३ दशमलव ७५ प्रतिशत रहेको पूँजीकोष अनुपात गत मङ्सिरसम्ममा १३ दशमलव १४ प्रतिशत छ । हाल कम्पनीको शेयरधनी सङ्ख्या करिब ३ लाख छ ।
कम्पनीका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायतका काम गर्दै जाने योजना रहेको बताएका छन्।