बढ्न थाल्यो घरजग्गा कारोबार, पुसमा मात्रै ४ अर्बभन्दा बढी राजस्व संकलन
Last updated at 07:42 am
मुलुकको अन्य क्षेत्रको आर्थिक गतिविधि सुस्ता अवस्थामा रहेपनि घरजग्गाको अवस्थामा भने सुधार हुन थालेको देखिएको छ ।
अन्य क्षेत्रको आर्थिक गतिविधि सन्तोषजनक नभएता पनि गत पुस महिनामा घरजग्गाको कारोबार भने एक तिहाइले बढेको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष पुस महिनामा देशभरका मालपोत कार्यालयबाट घरजग्गा सम्बन्धी ९ हजार १३१ वटा सेवा प्रवाह भएका थिए ।
यो वर्षको पुसमा यो संख्या १२ हजार २३६ पुगेको छ । यो ३४.०१ प्रतिशत बराबरको वृद्धि हो ।यसैगरी, उक्त अवधिमा लिखत पारित पनि ३९.५२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पुसमा भने ३ हजार ४३४ वटा लिखत पारित भएकोमा यो वर्षको सोही महिनामा यो संख्या बढेर ४ हजार ७७७ पुगेको हो ।
त्यस्तैअघिल्लो वर्षको पुसमा १९९ वटा संशोधन भएकोमा यो वर्ष बढेर ६२२ पुगेको छ, जुन तेब्बरभन्दा धेरैको वृद्धि हो ।त्यस्तै, यो अवधिमा हालसाविकको संख्या ३१ प्रतिशतले बढेर ४४६ वटा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यो संख्या ३४० थियो ।
पुस महिनामा जग्गा फुकुवा पनि साढे पाँच गुणाले बढेको छ । अघिल्लो पुसमा २९५ वटा जग्गाको फुकुवा भएकोमा यो वर्षको पुसमा १हजार ६४६ वटा जग्गा फुकुवा भएको छ।
यो महिनामा जग्गा दर्ताको संख्या भने निक्कै बढेको छ । अघिल्लो वर्ष पुस महिनामा ६ वटा जग्गा दर्ता भएकोमा यो वर्षको पुसमा ८५ वटा जग्गा दर्ता भएको हो । यो महिनामा ८ वटा अपार्टमेन्टको लिखत पारित भएका छन् ।
यो अवधिमा नामसारी तथा जग्गा रोक्काको संख्या भने ह्वात्तै घटेको छ । अघिल्लो वर्ष पुसमा ६८५ वटा नामसारी भएकोमा यो पुसमा घटेर ४८४ वटा पुगेको हो । कुनै व्यक्तिको मृत्यु ता अंशबण्डा हुँदा जग्गाको नामसारी गरिन्छ ।
३३ प्रतिशतले बढ्यो राजस्व
यो अवधिमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वसमेत बढेको छ । विभागका अनुसार देशभरका मालपोत कार्यालयले एक महिनाको अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाएका छन् । अघिल्लो वर्षको पुसमा यस्तो राजस्व ३ अर्ब २० करोड रुपैयाँमात्रै थियो।