हिमालयन बैंकको एफपीओ बाँडफाँट
Last updated at 11:25 am
हिमालयन बैंकको थप सार्वजनिक शेयर (एफपीओ) मंगलबार बिहान बाँडफाँट भएको छ ।
कमलादीस्थित कम्पनीको कार्यालयमा एफपीओ बाँडफाँट गरिएको हो । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो ।
उक्त कम्पनीको शेयर ९ लाख २५ हजार ४६ जनाले पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् ।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।
कुल स्वीकृत आवेदनमध्ये शेयर पाउनेको संख्या ५४ दशमलव २७ प्रतिशत हो । एफपीओ परेरनपरेको नतिजा केही समयपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले शेयर बाँडफाँट हुने गर्छ । पुग्नेजतिलाई १० कित्ताका दरले बाँडफाँट गरिसकेपछि बाँकी ‘अड लट’ संख्या थप १–१ कित्ताका दरले बाँडफाँट हुन्छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ निष्कासन गरेको थियो । सोमबार बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३९ रुपैयाँ छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा शेयर हिस्सा हिस्सा कम्तीमा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको हो । हाल यो हिस्सा २७ प्रतिशत मात्रै छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल छ ।