चालू आवको १० महिनामा वीरगञ्ज नाकाबाट ५ खर्बको आयात र ७९ अर्बको निर्यात
Last updated at 01:12 pm
वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको १० महिनामा ५ खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन्।
आव २०८०/८१ को १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्।
उक्त अवधिमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्र १ खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ। जसको हिस्सा ४५ अर्ब ७९ करोड रुपैयाँ छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालू आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन्। चालू आवको १० महिनामा २९ अर्ब २ करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन्।
उक्त अवधिमा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ। यसैगरी, ७९ अर्ब ३ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ। जबकि गत आवको १० महिनामा यो नाका हुँदै २५ अर्ब ४८ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो। गत आवको १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा भने २१० दशमलव १६ प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो।
उक्त अवधिमा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ। चालू आवको १० महिनामा ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ। जबकि गत आवको सोही अवधिमा ९ करोडका ४ लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो।
चालू आवको १० महिनामा ७ अर्ब २७ करोडको ३ करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। जबकि गत आवको १० महिनामा १० करोडको ५ लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो।