धितोपत्र बोर्डबाट दुई बैंकले पाए ऋणपत्र निष्कासन गर्न अनुमति
Last updated at 02:37 pm
दुई वटा अलग – अलग बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएका छन्।
धितोपत्र बोर्डले बुधबार नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्नेछन्।
नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
यो ऋणपत्रको अवधि १० वर्षे छ। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ।
यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
कम्पनीको यो ऋणपत्रको अवधि १० वर्षे छ। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ।