नेपालकाे अर्थतन्त्र ४.५% ले विस्तार : विश्व वैंक
Last updated at 05:49 pm
बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेकाेे छ ।
आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत उसले भनेकाे छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ को अप्रिल अडिसन सार्वजनिक गर्दै विश्व बैंकले यस आवमा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो ।
अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंक थियो । सन् २०२४ अन्त्यतिर नेपालले ठूला प्राकृतिक विपत्ति सामना गर्नुपरेको थियो ।
यस वर्ष आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादन वृद्धिबाट आर्थिक वृद्धिदर उकास्न मद्दत पुग्ने विश्व बैंकले उल्लेख गरेको छ ।
आगामी आवसमेत अर्थतन्त्र अझ विस्तार हुने अनुमान छ । यसमा सेवा क्षेत्रको योगदान बढी हुने अनुमान छ । आगामी आवमा ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुने छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिन आवश्यक रहेको बताएका छन्।
प्रतिवेदनले नेपालको आर्थिक परिदृष्यमा रहेको सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास) लाई औंल्याएको छ । जसमा भूराजनीतिक र व्यापार सम्बन्धी अनिश्चितता समावेश छन् ।
यसले नेपालको वित्तीय क्षेत्रको ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावना साथै सरकारले बारम्बार कर्मचारी सरुवा गर्दा उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइ सम्बन्धमा पनि उल्लेख छ ।
पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको राष्ट्रिय तथा बहुराष्ट्रिय निकायको प्रक्षेपणबाट देखिएको छ । यसअघि राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासिक अनुमानमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ ।