घरजग्गा कारोबारमा सुधार, फागुनमा मात्रै ४ अर्ब राजस्व संकलन
Last updated at 05:08 pm
घरजग्गाको कारोबारमा सुधार भएको पाइएको छ। घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको हो ।घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ ।
विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर २ अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पूँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।
विभागले गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब नौ करोड, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मंसिरमा ३ अर्ब ८७ करोड, पुसमा ४ अर्ब २५ करोड २२ लाख र माघमा ३ अर्ब ८७ करोड २४ लाख राजस्व संकलन गरेको थियो ।
त्यसैगरी, मालपोत कार्यालय कलंकीले गत फागुनमा २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले ३ करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।