उपराष्ट्रपति यादव र राजदूत तोरु बीच भेटवार्ता, द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल
Last updated at 06:24 pm
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि जापानका राजदूत मायदा तोरू बीच शिष्टाचार भेटवार्ता भएको छ ।शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल भएको छ ।
सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र जापानबीच ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ट एवम् मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको बताए।
‘दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा पनि द्विपक्षीय सम्बन्ध उत्तिकै बलियो रहिआएकोमा खुशी व्यक्त गर्दछु’, उनले भने, ‘ नेपाललाई भूकम्प लगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति धन्यवाद दिन चाहन्छु ।’
उनले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै हाम्रा दुई देशका सरकार र जनस्तरमा अत्यन्त सुमधुर सम्बन्धका साथ राम्रो मित्रता, समझदारी र सहयोगी भावना अभिवृद्धि भइरहेको बताए।
उनले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान सन् १९५४ देखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहिआएको बताए ।उपराष्ट्रपति यादवले मानव संशाधन विकासमा जापानले नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार रहेकोमा पनि बताए ।
यसैगरी,राजदूत मायदा तोरूले नेपाललाई जापानी सहयोग जारी रहने उल्लेख गर्दै नागढुंगा सुरुङ मार्ग यसै वर्ष सञचालनमा आउने बताए । ‘नेपाल र जापानको कुटनीतिक सम्बन्ध स्थापना पूर्वदेखि नै राम्रो र मजबुत सम्बन्ध छ’, भने,‘मेरो कार्यकालमा देश–देश बीच मात्र नभई व्यक्ति–व्यक्तिको सम्बन्ध बलियो बनाउने प्रयास हुनेछ ।
राजदूत तोरुले नेपालले ओसाका एक्स्पोमा सहभागिता जनाउने विषयले आफू खुशी भएको बताए ।