हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ % नगद लाभांश वितरण गर्ने
Last updated at 10:09 am
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा आयोजित सभामा शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन टोली तथा सरोकारवालाहरूको उपस्थिति थियो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरिएको थियो। २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले साधारणसभामा भाग लिएका थिए।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय प्रतिवेदनहरू पारित गरेको छ।
साथै, सोही आवको मुनाफाबाट कम्पनीले शेयरधनीहरूलाई ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरको छ । जसअनुसार कुल २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ नगद लाभांश प्रदान गरिनेछ। साथै,सभाले बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि र प्रतिभामा गरिएको लगानीले दीर्घकालीन रूपमा स्रोतहरूको परिचालन गरी दिगो लाभ लिन सकिने बताए ।साथै, उनले सबै सरोकारवालाहरूको निरन्तर विश्वास र सहयोगले कम्पनीलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोग गरी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै कम्पनीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था बनाउन प्रयासरत रहने बताइन् ।