नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ माघ ८ गतेदेखि निष्कासनमा
Last updated at 11:41 am
नेपाल माइक्रो इन्स्योरेन्सले आगामी माघ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई गत बिहीवार मात्रै आईपीओ निष्कास गर्न अनुमति दिएको थियो ।यससँगै कम्पनीले अब प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ ।त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा जारी गर्नेछ ।
जसमा पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने छ ।
कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ ।यो नेपाल बीमा प्राधिकरणबाट अनुमति पाउने पहिलो लघु निर्जीवन बीमा कम्पनी हो।हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रूपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी न्यूनतम ७५ करोड रूपैयाँ हुनुपर्ने व्यवस्था छ।कम्पनीको सञ्चालकमा आशिष श्रेष्ठ, सिए सिद्धान्त झुनझुनवाला, प्रविणा दाहाल लगायत छन्।