७ महिनामा लघु जीवन बीमा कम्पनीको व्यवसाय ६२ करोड ५२ लाख,कसको कति ?
Last updated at 05:23 pm
लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/ ०८२ को सात महीना अर्थात् माघ मसान्तसम्ममा साढे ६२ करोड रुपैयाँभन्दा केही बढी व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार सञ्चालित तीन लघु जीवन बीमा कम्पनीहरूले ६२ करोड ५२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । यो व्यवसाय गत आवको यसै अवधिको तुलनामा उल्लेख्य वृद्धि हो । हाल नेपालमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी ती लघु बीमक कम्पनी सञ्चालनमा छन् ।
गत आवको माघ मसान्तसम्ममा यी तीन कम्पनीले कुल ४ करोड २२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।जसमध्ये गार्डियन माइक्रो लाइफले समीक्षा अवधिमा २४ करोड ५१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा ५ लाख २४ हजार ४१२ वटा बीमा पोलिसी बिक्री गरेर उक्त व्यवसाय गरेको देखिन्छ।
यसैगरी, क्रेष्ट माइक्रो लाइफले उक्त अवधिमा २२ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले १ लाख ३८ हजार ७३० वटा बीमा पोलिसी बिक्री गरेको छ ।
त्यस्तै,लिबर्टी माइक्रो लाइफले १५ करोड १६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा ८३ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेर उक्त रकम आर्जन गरेको हो ।
यसैगरी, ती कम्पनीहरुले माघ महिनामा मात्रै कुल ७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमा गार्डियनको २ करोड ९९ लाख, क्रेष्टको २ करोड ७७ लाख र लिवर्टीको १ करोड ३७ लाख रुपैयाँ योगदान छ ।