५६ भन्दा बढी बीमितको १८ लाख बढी रकम हिनामिनागर्ने व्यक्ति पक्राउ
Last updated at 02:09 pm
हिमालयन लाइफ इन्स्योरेन्स उपशाखा कार्यालय होलेरीका एक जना कर्मचारी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।
सल्यान जिल्लाको शारदा नगरपालिका–४ घर भई पछिल्लो समय दाङको घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएका ३१ वर्षीय गणेश पहाडी पक्राउ परेका हुन्।उनले उक्त कम्पनीको उपशाखा कार्यालय होलेरीमा कार्यरत रहँदा बखत बीमित व्यक्तिहरूको १८ लाख ६७ हजार ७०१ रुपैयाँ हिनामिना गरेका थिए ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार उनले बीमित व्यक्तिहरूको रकम बुझेर कम्पनीको सफ्टवयरमा अद्यावधिक गर्नुपर्नेमा आफूखुसी राखेर रकम हिनामिना गरेका थिए।
विभिन्न मितिमा होलेरी शाखाबाट विभिन्न ५६ जना व्यक्तिहरूले बीमा बापत जम्मा गरेको रकम निजले आफूखुसी अपचलन गरेको प्रहरीले बताएको छ ।विभिन्न व्यक्तिहरूले बीमाको लागि भनेर दिएको रकम कम्पनीमा अद्यावधिक नगरी आपराधिक विश्वासघात गरी ठगी गर्ने पहाडीलाई गत वैशाख २७ गते बेलुकी पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला अदालत रोल्पाले पहाडीलाई १० दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको छ।प्रहरी हिरासतमा रहेका पहाडीमाथि आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीको छ।